काठमाडौं,०७ असार । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित भएको छ। शुक्रबार भएको खेलमा स्कटल्याण्डले दिएको १९४ रनको कठिन लक्ष्य पछ्याउँदै नेपाल १८.५ ओभरमै १५९ रनमा समेटिएको हो।
नेपालका लागि युवा खेलाडी रुपेश सिंहले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ४३ रनमा अविजित रहे। दिपेन्द्रसिंह ऐरीले ३४ रन जोड्दा कप्तान रोहित पौडेलले २७ रन बनाए। अन्य खेलाडी भने खासै टिक्न सकेनन् — ओपनर आसिफ शेखले १४ रन र आरिफ शेखले ५ रनमा पवेलियन फर्किए।
स्कटल्याण्डका बलरहरू प्रभावशाली रहे। क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। सफिया सरिफले २ विकेट हात पार्दा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले १–१ विकेट झारे।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनायो। ओपनर जर्ज मन्सेले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ५ चौका र ६ छक्का सहित ७८ रनको पारी खेले। ब्रान्डन म्याकमुलेनले ४२ रन, माइकल लिस्कले २६ रन तथा म्याथ्यु क्रसले १७ रनमा अविजित योगदान दिए।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान १ विकेट लिए।
शृंखलाको अन्त्यसम्म आइपुग्दा तीनै टोली — नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स — ले समान २–२ खेल जिते। नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो भने स्कटल्याण्डलाई पनि एकपटक पराजित गरेको थियो।

