‘ट्विटर किलर’ ताकाहिरो शिराइसीलाई जापानमा मृत्युदण्ड

spot_img

काठमाडौं,१४ असार । जापानमा ‘ट्विटर किलर’ को नामले कुख्यात बनेका ताकाहिरो शिराइसी लाई नौ जनाको हत्या अभियोगमा मृत्युदण्ड दिइएको छ। जापानको न्याय मन्त्रालयले शुक्रबार ३४ वर्षीय शिराइसीलाई टोकियोको हिरासत गृहमा गोप्य रूपमा फाँसी दिएको पुष्टि गरेको छ।

सन् २०१७ मा सामूहिक हत्या, सन् २०२० मा सजाय शिराइसीले सन् २०१७ मा आठ महिला र एक पुरुषको निर्मम हत्या गरेका थिए। उनी यौन दुर्व्यवहार तथा हत्याको अभियोगमा सन् २०२० मा मृत्युदण्डको सजाय सुनाइएका थिए।

अनुसन्धानका क्रममा एक २३ वर्षीया युवतीको खोजी गर्दै जाँदा प्रहरीले ताकाहिरोको अपार्टमेन्टमा छापा मारेको थियो। तीनवटा कुलर बक्समा मानिसका टाउका र हड्डी फेला परेपछि उनको अपराध खुलासा भएको थियो।

शिराइसीले ट्विटरमा आत्महत्याका विचार पोस्ट गर्ने व्यक्तिहरूसँग “म तिमीलाई आत्महत्या गर्न सहयोग गर्छु” भन्ने सन्देशमार्फत सम्पर्क बढाउँथे। त्यसपछि आफ्नै अपार्टमेन्टमा बोलाएर उनले तीन किशोरीसहित पाँच महिलाको बलात्कारपछि हत्या गरेका थिए। एक पीडित महिलाका प्रेमीलाई समेत उनले मारेका थिए।

अदालती बयानमा ताकाहिरोले यौन इच्छाबाट प्रेरित भएर हत्या गरेको स्वीकार गरेका थिए।

शिराइसीका वकिलले सुरुमा टोकियो उच्च अदालतमा फैसलाविरुद्ध अपिल गरे पनि पछि अपिल फिर्ता लिएका थिए। फाँसी कार्यान्वयनपछि मात्रै उनको मृत्युदण्ड सार्वजनिक गरिएको हो।

एक पीडितका बाबुले एनएचके सँग भने, “म चाहन्थें उसले मृत्युदण्ड होइन, जीवनभर कारावासमा बसेर अपराधको प्रायश्चित गरोस्।” जापानमा मृत्युदण्डबारे पछिल्लो तथ्य न्यायमन्त्री केइसुके सुजुकी का अनुसार अहिले जापानमा १०५ जना कैदी मृत्युदण्डको प्रतीक्षामा छन्, जसमा ४९ जनाले फैसला पुनरावलोकनको माग गरेका छन्।

जापानमा सन् २००७ देखि मृत्युदण्ड प्राप्त व्यक्तिका नाम र अपराध सार्वजनिक गरिने गरिएको छ। पछिल्लो पटक सन् २०२२ जुलाईमा एक व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो, जसले टोकियोमा गाडी दुर्घटना र छुरा प्रहारबाट सात जनाको हत्या गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय