काठमाडौं,१७ असार — गाजाको एउटा चर्चित क्याफे, जहाँ पत्रकार, सामाजिक अभियन्ता र स्थानीय बासिन्दाको आवतजावत बाक्लो हुने गर्छ, त्यहीँ एक इजरायली हवाई हमलामा कम्तिमा २० जनाले ज्यान गुमाएका छन्।
प्रत्यक्षदर्शीका अनुसार उद्धारकर्मीहरूले अल बाका क्याफ्टेरिया नामको उक्त स्थानबाट २० शव फेला पारेका छन्। दर्जनौं घाइतेहरूको उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
“म इन्टरनेटको सुविधा नहुँदा इन्टरनेट चलाउनकै लागि त्यहाँ गएको थिएँ। म पुग्नेबित्तिकै विस्फोट भयो,” एक स्थानीय क्यामेरा पत्रकारले भने। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा इजरायली मिसाइल आक्रमण स्पष्ट देखिन्छ।
गाजा खाली गराउने रणनीतिअन्तर्गत इजरायलले उक्त स्थानलाई लक्ष्य बनाई आक्रमण गरेको हो। जबकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब दिइरहँदा यो घटना भएको हो।
गत जनवरी १९ मा गरिएको युद्धविराम मार्च महिनामा समाप्त भएपछि इजरायली सैन्य गतिविधि पुनः सुरु भएको थियो। पछिल्ला दिनहरूमा आक्रमण झनै तीव्र बनेको देखिन्छ।
अमेरिका लगायतका अन्तर्राष्ट्रिय निकायहरूको दबाब हुँदाहुँदै पनि इजरायलले ११ सातासम्म गाजामा राहत प्रवेश गर्न दिएको थिएन। हाल पनि आक्रमण जारी रहेको जनाइएको छ।

