बीरगन्ज,१७ असार । जीतपुरसिमरा उपमहानगरपालिकाको भोली हुने भनिएको नगरसभा पनि स्थगित हुने संभावना बढेको छ । मेयर राजन पौडेल र वडाअध्यक्षहरूबीच बजेटको सिलिङ तोक्ने विषयमा सहमति नजुट्दा नगरसभा लगातार दोस्रो पटक प्रभावित हुने भएको हो।
उपमहानगरले आगामी आर्थिक वर्षका लागि ३० करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ। तर, उक्त बजेटको बाँडफाँडमा सहमति नजुटेपछि गत असार ९ मा डाकिएको नगरसभा स्थगित गरिएको थियो। दोस्रोपटक मंगलबार भएको छलफलमा वडा अध्यक्षहरूले २७ करोड माग गरेपछि विवाद थप चुलिएको हो।
मेयर पौडेलले ३० करोडको पूर्ण बजेटलाई आधार मानेर ३५% नगरस्तरीय योजना (मेयर), ५०% वडास्तरीय (वडाअध्यक्षहरू) र १५% उपमेयर तथा कार्यपालिका सदस्यका लागि बाँडफाँड प्रस्ताव गरेका थिए। यस अनुसार वडाहरूले १५ करोड, मेयरले १० करोड ५० लाख, र अन्यले ४ करोड ५० लाख उपयोग गर्न सक्ने व्यवस्था थियो।
तर, वडा अध्यक्षहरूले उक्त प्रस्तावमा असहमति जनाउँदै आफूहरूलाई पर्याप्त अधिकार नदिएको आरोप लगाएका छन्। उपमेयरसहित वडाअध्यक्षहरूको बहुमत एमालेमा रहेको हुँदा राजनीतिक मतभेदले पनि बजेट प्रक्रिया प्रभावित भएको बताइएको छ।
यद्यपि, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले नगरसभाको बैठक भोलि १ बजे सिमरास्थित क्लासिक होटलमा बस्ने सूचना जारी गरिसकेका छन्। तर बजेटमा सहमति नजुटेसम्म बैठकको औपचारिकता मात्र देखिने अनुमान गरिएको छ।

