काठमाडौं — १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपाल आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको छ। त्यसअनुसार मलेसियाले ब्याटिङबाट खेलको सुरुवात गरिसकेको छ।
समूह चरणमा चारै खेल जित्दै अपराजित रहको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। उसले समूह ‘बी’को दोस्रो स्थानमा रहेको आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालले समूह चरणमा पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले, तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले र अन्तिम खेलमा भुटानलाई २९८ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
नेपाल अहिले मलेसियालाई हराउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा छ। त्यसैगरी, दोस्रो सेमिफाइनल खेल आजै हङकङ र सिंगापुरबीच हुँदैछ। हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो।
दुवै सेमिफाइनलको विजेता टोलीले असार २१ गते मलेसियामा हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

