काठमाडौं,२१ असार । भारतको उत्तरका हिमाली राज्यहरूमा लगातारको मनसुनी वर्षाले गम्भीर प्रकोप ल्याएको छ। पछिल्ला दुई हप्तायता आएको भारी वर्षासँगै बाढी र पहिरोका कारण हिमाचल प्रदेश र उत्तराखण्ड राज्यमा कम्तीमा ६९ जनाको ज्यान गएको छ भने ११० जना घाइते भएका छन्।
प्राकृतिक विपत्तिपछि दर्जनौँ सडकहरू अवरुद्ध छन् र जनजीवन अस्तव्यस्त भएको छ। हिमनदीहरूबाट उत्पत्ति भएका ब्यासजस्ता शक्तिशाली नदीहरूमा पानीको सतह उच्च बन्दै गएका कारण हिमाचल प्रदेशका थुप्रै मार्ग र बस्तीहरू बाढीको चपेटामा परेका छन्।
भारतको मौसम विभागले हिमाचल र उत्तराखण्डमा आगामी दिनमा पनि भारी वर्षाको चेतावनी जारी गरेको छ। देशभर फैलिएको वर्षाले भारतको उत्तरपूर्वी राज्यहरू अरुणाचल प्रदेश, मणिपुर र मिजोरममा पनि बाढी र पहिरोको जोखिम निम्त्याएको छ।
यसअघि जुन महिनामै भारतको दुर्गम उत्तरपूर्वी क्षेत्रमा बाढी र पहिरोका कारण ३० जनाको ज्यान गएको थियो। हाल भारतीय सेना राहत तथा उद्धार कार्यमा सक्रिय रहनु परेको छ।
जलवायु परिवर्तनको प्रभावका कारण दक्षिण एशियामा मौसमको स्वरूप परिवर्तन भइरहेकाे छ। वैज्ञानिकहरूले यद्यपि मनसुनी प्रणालीमा जलवायु परिवर्तनको सिधा असर कति छ भन्नेबारे अझै ठोस निष्कर्ष निकाल्न सकेका छैनन्।
पछिल्लो उदाहरणस्वरूप, भारतको आर्थिक राजधानी मुम्बईमा यस वर्ष मनसुनी वर्षा सामान्यभन्दा करिब दुई साता अघिनै सुरु भएको थियो, जुन एक चौथाइ शताब्दीयताकै सबैभन्दा छिटो सुरु भएको मनसुनको रूपमा लिइएको छ।
भारतभर मनसुनसँगै आउने बाढी, पहिरो र जनधनको क्षति हरेक वर्ष झनै गम्भीर बन्दै गएकोले, पूर्वतयारी र दीर्घकालीन जलवायु रणनीति आवश्यक भएको विज्ञहरूले सुझाएका छन्।

