spot_img

गुणस्तरहीन उपकरण खरिद प्रकरणमा सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर

spot_img
spot_img

काठमाडौं,२७ असार । राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व–कार्यकारी निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचारको अर्को गम्भीर आरोप लागेको छ। पौडेलसहित अन्य ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको हो । यो पटकको आरोप गुणस्तरहीन प्रोसेसरसहितको स्टोरेज आपूर्ति गरी राज्यको ढुकुटीबाट १५ करोड ८८ लाख रुपैयाँ भुक्तानी लिएको भन्ने छ।

अख्तियारका अनुसार, उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार गरी २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरिएको थियो। तर, त्यस क्रममा गुणस्तरमा ठूलो लापरबाही भएको पाइएको हो ।

यस प्रकरणमा सुनिल पौडेलसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले यी सबै ६ जनाबाट जनही १५ करोड ८८ लाख रुपैयाँ बिगो असुलउपर गरी सजायको माग दाबी गरेको छ। सुनिल पौडेलमाथि भ्रष्टाचारको यो पहिलो मुद्दा भने होइन। उनी यसअघि नै विभिन्न ठूला भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।

आरआईएससी र एचसीआई सर्भर खरिदमा ३ अर्ब १४ करोड रुपैयाँ भ्रष्टाचारको आरोप उनीमाथि छ । सुरक्षा र नेटवर्क उपकरण खरिदमा ३ करोड ८ लाख रुपैयाँ भ्रष्टाचारको आरोप छ भने नेपाल टेलिकमको बिलिङ प्रकरणमा प्रबन्ध निर्देशक हुँदाको बिलिङ अनियमिततासम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । बारम्बार भ्रष्टाचारका मुद्दामा मुछिएका पौडेलको यो पछिल्लो मुद्दाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जवाफदेहितामाथि फेरि प्रश्न उठाएको छ। यस प्रकरणको फैसलाले कसुरदारहरूलाई कस्तो सजाय हुन्छ, त्यो हेर्न बाँकी नै छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय