spot_img

पटनाको अस्पतालमा उपचाररत कैदीको गोली हानी हत्या

spot_img
spot_img

काठमाडौं,०१ साउन । भारतको बिहार राज्यको राजधानी पटनास्थित पारस अस्पतालमा अपराधीहरूले प्रवेश गरी उपचार गराइरहेका एक कैदीको गोली हानी हत्या गरेका छन्। पटनाको राजा बजारमा अवस्थित यो अस्पताल सहरका मुख्य अस्पतालहरूमध्ये एक मानिन्छ।

मृत्यु हुने कैदीको नाम चन्दन मिश्र रहेको छ। बक्सर जिल्लाका स्थायी बासिन्दा मिश्रमाथि केशरी नामक व्यक्तिको हत्या गरेको आरोप थियो। उनी बेउर जेलमा थिए र प्यारोलमा उपचारका लागि अस्पताल भर्ना भएका थिए। घटनास्थलमा पुगेका पटनाका एसएसपी कार्तिकेय शर्माका अनुसार पोस्टमार्टम रिपोर्टले गोलीको सङ्ख्याबारे स्पष्ट पार्ने भए पनि धेरै राउन्ड गोली चलेको प्रारम्भिक अनुमान छ। एसएसपी शर्माले चन्दन मिश्रको विपक्षी समूह अस्पतालभित्र प्रवेश गरी गोली चलाएको जानकारी दिनुभयो।

आफ्नो परिवारको सदस्यको उपचार गराइरहेका अमित कुमारले घटनाबारे बताउँदै भने, “हामी अस्पताल बाहिर उभिरहेका थियौं। त्यसपछि हामीले केही मानिसहरू भित्र पसेको देख्यौं। पछि गोली चलेको भनेर हल्ला भयो। त्यसपछि अस्पतालमा अराजकता मच्चियो। केही समयपछि प्रहरी र मिडिया त्यहाँ पुगे।“

यो घटनाले बिहारको कानुन व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। बिहारका पूर्व उपमुख्यमन्त्री तथा आरजेडी नेता तेजस्वी यादवले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आक्रोश व्यक्त गर्दै लेखेका छन्, “सरकारी अपराधीहरूले आईसीयूमा प्रवेश गरेर अस्पतालमा भर्ना भएका एक बिरामीलाई गोली हाने। बिहारमा कतै पनि कोही सुरक्षित छैन। के २००५ भन्दा पहिले यस्तै थियो?“

विपक्षी दलहरूले बिहारको कानुन व्यवस्थाको अवस्थालाई लिएर पहिलेदेखि नै राज्य सरकारमाथि आक्रमण गरिरहेका छन्। केही दिनअघि मात्र पटनाका प्रख्यात व्यापारी गोपाल खेमकाको गान्धी मैदान नजिकै उनको घरको ढोकामै हत्या गरिएको थियो। यस घटनापछि पनि पटना प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठेको थियो। अस्पतालभित्रै भएको यो गोलीकाण्डले सर्वसाधारणको सुरक्षा र राज्यको कानुन व्यवस्थाको चुनौतीलाई थप उजागर गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय