१३ वर्षपछि पक्राउ परे जन्मकैदी सुवास लिम्बू

spot_img

काठमाडौं,१७ साउन ।  प्रहरी जवान भूपाल आचार्यको हत्या र अर्का प्रहरी चन्द्र देवानलाई गम्भीर घाइते बनाएको अभियोगमा जन्मकैद सजाय तोकिएका सुवास लिम्बू अन्ततः १३ वर्षपछि पक्राउ परेका छन्। फरार सूचीमा रहेका लिम्बूलाई ताप्लेजुङ प्रहरीले लामो खोजीपछि सदरमुकाम फुङलिङ बजारबाट पक्राउ गरेको हो।

मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका सुवासलाई जिल्ला अदालत ताप्लेजुङले २०७१ साल असोज ३१ गते जन्मकैदको फैसला सुनाएको थियो। तर फैसला लागेसँगै उनी फरार बनेका थिए। प्रहरीले दिएको जानकारीअनुसार उनी भारतको बेंगलोर, हैदराबाद, चेन्नईजस्ता सहरहरूमा बसोबास गर्दै आएका थिए।

प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार सुवास हालै मात्र आफ्नो गृहजिल्ला फर्किएका थिए। यही अवसरमा उनलाई सदरमुकाम फुङलिङ बजारबाट नियन्त्रणमा लिइएको हो। उनलाई अदालतमा पेश गरेर फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ।

२०६९ साल असोज १० गते दोभान बजारमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण गरिएको थियो। उक्त घटनामा प्रहरी जवान भूपाल आचार्यको ज्यान गएको थियो भने चन्द्र देवान गम्भीर घाइते भएका थिए। त्यसक्रममा प्रहरीले हतियारसमेत लुटिएको आरोपमा मुद्दा दायर गरेको थियो।

प्रहरीका अनुसार सुवास लिम्बूलाई जिल्ला अदालतको आदेशअनुसार जेल चलान गरिएको छ। अदालतको फैसलाअनुसार उनलाई अब बाँकी २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय