वीरगन्ज,१८ वैशाख । १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगन्ज इकाईले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै दिवस भव्य रूपमा मनाएको छ।
कार्यक्रमअन्तर्गत बिहान वीरगन्जमा मोटरसाइकल र्याली निकालिएको थियो। र्यालीपछि संघको टोली “आमाको माया छात्रावास” पुगेर त्यहाँ रहेका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो।
छात्रावासमा आयोजित कार्यक्रममा बालबालिकासँग केक काट्दै खुसी साटासाट गरिएको थियो। संघका अनुसार यस पहलले मजदुर दिवसलाई केवल औपचारिक कार्यक्रम मात्र नभई सामाजिक सद्भाव र मानवतासँग जोड्ने प्रयास गरेको हो।
कार्यक्रम संघका अध्यक्ष सौरव बर्णवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गणेश साह, वरिष्ठ उपाध्यक्ष विकास कुशवाहा, उपाध्यक्ष अजय पटेल, सचिव बब्लु चौधरी, सह–सचिव गौरव पटेल, कोषाध्यक्ष दिपेन यादव, सह–कोषाध्यक्ष सिद्धार्थ पाण्डे लगायत विभिन्न सदस्य तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो।
संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बालबालिकाको शिक्षामा सहयोग पुर्याउनुका साथै मजदुर दिवसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

