एक वर्षमै साढे १७ अर्बको बिजुली निर्यात, बंगलादेशमा पनि विस्तार

spot_img

काठमाडौं,२१ साउन । नेपालले आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ। विद्युत् प्राधिकरणका अनुसार भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६६ लाख रुपैयाँ बराबरको बिजुली बिक्री भएको हो।

उता भारतबाट भने यही अवधिमा १२ अर्ब ९२ करोड रुपैयाँको बिजुली आयात गरिएको छ। अघिल्लो वर्षको तुलनामा निर्यात बढेको र आयात घटेको प्राधिकरणको भनाइ छ। २०८०/८१ मा भारतमा १७ अर्ब ६ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको थियो, जबकि बंगलादेशमा निर्यात सुरु गरिएको थिएन।

प्राधिकरणका तथ्यांकअनुसार पछिल्लो वर्ष भारतमा २ अर्ब ३५ करोड युनिट र बंगलादेशमा ३ करोड युनिटभन्दा बढी बिजुली पठाइएको हो।

बंगलादेशसँग ६.४० अमेरिकी सेन्ट प्रतियुनिट दरमा विद्युत् बिक्री सम्झौता भएको छ। त्रिशूली (१८.६ मेगावाट) र चिलिमे (२१.४ मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश पठाइँदै आएको छ। नेपाल–भारत–बंगलादेशको त्रिपक्षीय समझदारी अनुसार १ असारदेखि पुनः ४० मेगावाट निर्यात सुरु भएको हो।

बंगलादेशलाई हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म विद्युत् आपूर्ति गर्ने सहमति छ। पहिलो पटक भने २०८० कात्तिकमा १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली पठाइएको थियो।

भारतले हालसम्म नेपाललाई प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौतामार्फत ९४१ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ। हाल ७–८ सय मेगावाट निर्यात भइरहे पनि केही आयोजना बन्द हुनु, धमिलो पानी र प्रसारण क्षमता सीमितताका कारण पूर्ण क्षमतामा निर्यात हुन सकेको छैन।

“भदौको तेस्रो सातापछि पानी सफा हुँदै जान्छ। त्यसपछि एक हजार मेगावाटसम्म निर्यात गर्न सकिनेछ,” प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए। उनका अनुसार भारतलाई थप ३५० मेगावाट बराबरको परियोजनाको स्वीकृतिका लागि प्रस्ताव पठाइएको छ, जसमा २०० मेगावाटको स्वीकृति चाँडै आउन सक्नेछ।

२०८०/८१ मा नै विद्युत् निर्यातले आयातलाई उछिनेको दाबी प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए। तर स्वदेशी उद्योगहरूलाई मागअनुसार विद्युत् नदिई निर्यातमा प्राथमिकता दिइएको भन्दै आलोचना पनि भएको थियो।

तर पछिल्लो तथ्यांक अनुसार आयात घट्दै गएको छ र निर्यातले थप उचाइ लिएको देखिन्छ। यो नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै क्षेत्रीय विद्युत् व्यापारमा सशक्त साझेदारका रूपमा उभ्याउने संकेत हो।

spot_img

ताजा अपडेट

लोकप्रिय