रौतहटको मुडवलवामा ट्रान्सफर्मर नजोडिँदा सिँचाइ संकटमा

spot_img

रौतहट,२२ साउन । राजदेवी नगरपालिका–७, मुडवलवामा रहेको डिप ट्युबेल ट्रान्सफर्मर जडान नहुँदा वर्षौंदेखि प्रयोगविहीन बनेको छ। पछिल्लो समय खडेरीले खेतीमा असर गरेपछि सिँचाइको संकट चुलिँदै जाँदा स्थानीय किसानहरू डिप ट्युबेल सञ्चालनका लागि दबाब दिन थालेका छन्।

स्थानीय विन्देश्वरप्रसाद यादवका अनुसार, २०६५ सालमा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र, नक्टाझिज (धनुषा)ले जडान गरेको उक्त डिप ट्युबेलको ट्रान्सफर्मर केही वर्षअघि चोरी भएपछि सञ्चालनमा आउन सकेको छैन।

६० बिघा जमिनमा सिँचाइ गर्न सक्ने क्षमता भएको यस प्रणालीमा नेपाल सरकारको ४८ लाख रुपैयाँ लगानी भइसकेको कृषि इन्जिनियर महेन्द्र सुनरैतले जानकारी दिए। घर निर्माण, बोरिङ, मोटर र पम्प जडानजस्ता सम्पूर्ण तयारी सकिए पनि ट्रान्सफर्मर पुनः खरिदमा बजेट प्रयोग गर्न मिल्दैन भन्ने प्राविधिक बाध्यताको कारण डिप ट्युबेल सञ्चालन हुन सकेको छैन।

सिंचाइ सुविधा नहुँदा खेत बाँझो बस्न थालेपछि स्थानीयहरू अब डिप ट्युबेल पुनः सञ्चालनमा ल्याउन जोडदार माग गरिरहेका छन्। राधाकृष्ण डिप ट्युबेल जल प्रबन्धन समितिले ट्रान्सफर्मर जडानको माग गर्दै जिल्ला दैवी प्रकोप उद्धार समितिलाई अनुरोध गरेको छ। समितिका सभापति रामेश्वरप्रसाद यादवका अनुसार, जिल्ला प्रशासन कार्यालयले नेपाल विद्युत् प्राधिकरण गौर वितरण केन्द्रलाई पत्राचार गरे पनि अहिलेसम्म ठोस प्रगति देखिएको छैन।

यसैबीच, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारिप्रसाद यादवले वडा नं. ७ का लागि सय केभीए क्षमताको नयाँ ट्रान्सफर्मर खरिद भइसकेको जानकारी दिँदै उक्त ट्रान्सफर्मरलाई डिप ट्युबेल सञ्चालनमा प्रयोग गर्ने योजना रहेको बताएका छन्।

ट्युबेलसँगै १ किलोमिटर लामो कुलो निर्माणको प्रावधान पनि रहेकाले, ट्रान्सफर्मर जडानपछि कुलो निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ।वर्षौंदेखिको उपेक्षित योजनाले अहिलेको सुक्खा परिस्थितिमा झनै समस्या थपेको छ। स्थानीय किसानहरू अब यो समस्याको चाँडो समाधान नभए, खेती नै संकटमा पर्ने चेतावनी दिन थालेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय