काठमाडौँ,२२ साउन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि एक पटक सडकबाट क्रान्ति आवश्यक भएको बताएका छन्। उनले आफैंले त्यस क्रान्तिको नेतृत्व गर्ने घोषणा पनि गरे।
अखिल क्रान्तिकारीद्वारा आयोजित शैक्षिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीताको स्थापनापछि पनि मुलुकमा गुणात्मक परिवर्तन नभएको उल्लेख गर्दै, अबको बाटो फेरि आन्दोलनकै हुने स्पष्ट पारे।
“संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ, समावेशिता पनि आएको छ,” दाहालले भने, “तर, नयाँ क्रान्तिबिना मुलुकको रूपान्तरण सम्भव छैन। म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गइसकेको छु।”
उनले भनेको क्रान्तिलाई भने सशस्त्र क्रान्ति नभइ सडक संघर्षको रूपमा व्याख्या गरे। “म सशस्त्र क्रान्तिको कुरा गरिरहेको छैन,” उनले स्पष्ट पारे, “तर सडकबाट ठूलो जनलहर नउठेसम्म सत्तामा बसेकाहरूको दिमागमा परिवर्तन हुँदैन।”
अध्यक्ष दाहालले देशको कर्मचारीतन्त्र (ब्युरोक्रेसी) र न्याय प्रणाली (जुडिसियरी) रूपान्तरणको खाँचो औंल्याउँदै पुराना राजनीतिक संरचना र सोचमा पनि फेरबदल गर्नुपर्ने बताए।
“देशलाई गुणात्मक रुपमा अघि बढाउन अझै जुडिसियरी, ब्युरोक्रेसी र पुराना पार्टीको सोचमा क्रान्ति ल्याउन सकेका छैनौं,” उनले भने, “हामीले परम्पराका सांग्ला तोड्न बाँकी छ।”उनको भनाइमा अझै मुलुकको संरचनात्मक रुपान्तरण अधुरो रहेको छ, जसलाई आन्दोलन र जनदबाबमार्फत मात्रै सम्पन्न गर्न सकिने धारणा झल्किएको छ।
पुष्पकमल दाहालले २०५२ सालदेखि सुरु भएको दश वर्षीय सशस्त्र जनयुद्धको नेतृत्व गरेका थिए, जसले नेपालमा गणतन्त्र स्थापनासम्म पुर्याएको थियो। पछिल्लो समय उनले पटक–पटक शान्तिपूर्ण राजनीतिक क्रान्तिको खाँचो औंल्याउँदै आएका छन्।

