वीरगञ्जमा हैजा संक्रमण तीव्र रुपमा फैलिएको छ। महानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ११४ जनामा हैजा पुष्टि भएको छ।
शुक्रबारदेखि अहिलेसम्म विभिन्न अस्पतालमा ३९० जना झाडापखला र हैजाका बिरामी भर्ना भएका छन्। तीमध्ये १८४ जना उपचारपछि डिस्चार्ज भए पनि २०६ जना अझै अस्पतालमै उपचाररत छन्।
हाल आईसीयूमा ३१, एचडीसीयूमा ६ र सामान्य वार्डमा १६९ जना बिरामी उपचार गराइरहेका छन्।
नारायणी अस्पतालमा ४३, तराई अस्पतालमा ३८ र नेसनल मेडिकल कलेजमा १५ जनामा आरडीटी परीक्षणमार्फत हैजा पुष्टि भएको छ। अन्य अस्पतालहरू—भवानी, वीरगञ्ज हेल्थ केयर, मंगलम प्याथोलोजी, अली अर्थो, एड्भान्स सेन्ट्रल, नारायणी सेन्ट्रल, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी वयोद्या र सर्वोत्तम अस्पताल—मा समेत संक्रमित फेला परेका छन्।
यसबाहेक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका १० नमुनामध्ये ८ मा हैजा पुष्टि भएको छ। बाँकी दुई नमुनाको प्रतिवेदन आउन बाँकी छ।

