रौतहट,१८ वैशाख । रौतहटको माधवनारायण नगरपालिकाले स्थापनाको आठ वर्षपछि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ।
नवनिर्मित भवनको उद्घाटन नगर प्रमुख वैजनाथप्रसाद यादवले गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्दै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरिएको बताए। नागरिकलाई छिटो, छरितो र झन्झटरहित सेवा उपलब्ध गराउने उद्देश्यले भौतिक पूर्वाधार विस्तार गरिएको उनको भनाइ थियो।
नगर प्रमुख यादवले नयाँ भवनबाट सेवाग्राहीले सहज र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मीले नयाँ भवनबाट जनताले परिवर्तनको अनुभूति हुने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले प्रविधिको अधिकतम प्रयोग गर्दै नतिजामुखी कार्यमा ध्यान दिनुपर्नेमा जोड दिए।
नगरपालिकाका वरिष्ठ इन्जिनियर नागेन्द्र राय यादवका अनुसार भवन संघीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत साझेदारीमा निर्माण गरिएको हो। भवन बालबालिका, वृद्धवृद्धा तथा फरक क्षमता भएका व्यक्तिमैत्री हुने गरी डिजाइन गरिएको छ। साथै लिफ्टसहित साढे तीन तले संरचना निर्माण गरिएको छ।
नवनिर्मित भवनको कुल लागत ११ करोड ८८ लाख ९२ हजार २९४ रुपैयाँ रहेको छ। निर्माण कार्यका लागि २०८० कात्तिक १९ गते चण्डी श्रीराम जेभी नुवाकोटसँग सम्झौता गरिएको थियो। नगर प्रमुख यादवले भवन निर्माणका लागि करिब एक करोड रुपैयाँ बराबरको पाँच कट्ठा जग्गा निःशुल्क रूपमा नगरपालिकालाई उपलब्ध गराएको पनि जनाइएको छ।

