सर्लाही,१८ वैशाख । सर्लाही सदरमुकाम मलङ्गवामा एक युवक पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित पन्दुबा पोखरीमा ३५ वर्षीय दिवानी भन्ने मोहबुब मिकरानी शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्थानीयवासीले बिहान पोखरीमा बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनापछि मृतककी आमाले शवको सनाखत गरेकी छिन्। उनले छोरा मोहबुबको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेकी प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखेको छ। सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शवमा कुनै शङ्कास्पद चोटपटक देखिएको छैन। उनले पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने बताए।

