काठमाडौँ,१८ वैशाख । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकहरूको हक, हित र अधिकारको संरक्षण तथा कार्यान्वयनमा सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विश्व श्रमिक आन्दोलनको ऐतिहासिक संघर्षलाई स्मरण गरेका हुन्। उनले अमेरिकाको शिकागोमा आठ घण्टा कार्यदिनको माग गर्दै मजदुरहरूले गरेको आन्दोलनलाई श्रमिक अधिकार स्थापनाको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरेका छन्।
प्रचण्डले श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। उनले किसान, मजदुर तथा सुकुम्बासी वर्गको अधिकार संरक्षणमा आफ्नो पार्टी सधैं प्रतिबद्ध रहने पनि बताएका छन्।
उनले ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरू कमजोर पार्ने कुनै पनि प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारलाई उत्तरदायी ढंगले काम गर्न आग्रह गरेका छन्।
श्रमिक वर्गको योगदानको सम्मान गर्दै श्रमिकमैत्री वातावरण निर्माण गर्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

