सीमामा कडाइपछि रक्सौल सुनसान, वीरगन्ज बजारमा चहलपहल बढ्यो

spot_img

वीरगन्ज,१८ वैशाख । नेपाल–भारत सीमामा भन्सार नियम कडाइका साथ लागू भएपछि सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली उपभोक्ताको आवतजावत घटेको छ भने वीरगन्ज बजारमा किनमेल गतिविधि बढेको छ।

सरकारले वैशाख २ गतेदेखि १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था लागू गरेपछि सीमाक्षेत्रको व्यापारिक गतिविधिमा उल्लेखनीय परिवर्तन देखिएको हो। यसअघि वीरगन्ज, जीतपुरसिमरा, हेटौँडा, नारायणगढ, पोखरा र काठमाडौंसम्मका उपभोक्ता किनमेलका लागि रक्सौल पुग्ने गर्थे। तर हाल कडाइपछि रक्सौल बजार सुनसानजस्तै बनेको व्यापारीहरूले बताएका छन्।

खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, कृषि सामग्री, मल तथा बिउबिजनलगायतका सामान खरिदका लागि परिचित रक्सौल बजारमा नेपाली ग्राहकको संख्या ह्वात्तै घटेपछि व्यवसाय प्रभावित भएको छ। व्यापारीहरूले दैनिक बिक्री घट्दा आर्थिक संकट झेल्नुपरेको गुनासो गरेका छन्। अनौपचारिक व्यापार र सानो परिमाणमा हुने सामान ओसारपसारमा समेत कमी आएको बताइएको छ।

यसैबीच, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले भन्सार नियमलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सीमावर्ती अर्थतन्त्रलाई ध्यानमा राखेर नीति बनाउन आग्रह गरेका छन्। उनले खुला सीमाक्षेत्रमा लाखौँ नागरिक व्यापार र रोजगारीमा निर्भर रहेको उल्लेख गर्दै वैकल्पिक रोजगारी सिर्जना गर्नुपर्ने सुझाव दिएका छन्।

अर्कोतर्फ, वीरगन्जका केही व्यवसायीले भने सीमामा कडाइ भएपछि स्थानीय बजारमा बिक्री बढेको बताएका छन्। उनीहरूका अनुसार पहिले रक्सौल जाने ग्राहक अहिले स्थानीय बजारमै किनमेल गर्न थालेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका सचिव प्रेमचन्द्र गोयलले पनि भन्सार नियम कडाइलाई सकारात्मक भन्दै उपभोक्तालाई देशभित्रै बजार प्रयोग गर्न प्रोत्साहन मिल्ने बताएका छन्।

त्यस्तै, व्यापारीहरूले सरकारले मूल्य अन्तर कम गर्ने नीति ल्याउन सके सीमापार किनमेल अझै घट्ने बताएका छन्।

सुरक्षा निकायका अनुसार घरायसी प्रयोगका सामान तथा विशेष अवसरका सामग्रीमा सहजीकरण गरिए पनि व्यापारिक उद्देश्यका सामानमा कडाइ गरिएको छ। यसैबीच, वीरगन्जतर्फ सडक विस्तारका कारण पनि बजार प्रभावित भएको छ। डोजर प्रयोग गरी सडक विस्तार भइरहेकाले धेरै पसल विस्थापित भएका छन् भने केहीले अस्थायी रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय