बीरगन्ज । पर्साको कालिकामाई गाउँपालिका–२ स्थित कालिकामाई युवा समाजले विद्यालयहरूको दयनीय अवस्था र गाउँपालिकाको गैरजिम्मेवार गतिविधिप्रति आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको छ।
२०८२ भदौ ८ गते युवा समाजको टोलीले गाउँपालिकाभित्रका चार वटा सामुदायिक माध्यमिक विद्यालय—श्री जनता मा.वि. (मुड्ली), श्री सुकई साह मा.वि. (भेडिहारी), श्री नेपाल राष्ट्रिय मा.वि. (कट्टिबलुवा) र श्री दिव्य कन्या मा.वि. (विरञ्चीवर्वा)—मा स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा विद्यालयहरूमा बेञ्च-डेस्कको अभाव, खानेपानी सुविधा नहुनु, सरसफाई कर्मचारी नहुनु, विषयगत शिक्षकको कमी, निजी स्रोतबाट कार्यरत शिक्षकले वर्षौँदेखि तलब नपाउनु, विद्युत बिल नतिरेको कारण अन्तिम चेतावनी पाउनु लगायतका गम्भीर समस्या भेटिएका थिए।
युवा समाजले यी समस्याबारे छलफल गर्न गाउँ कार्यपालिकाको कार्यालय धाउँदा सूचना शाखा र दर्ता चलानी बाहेक सबै शाखा बन्द देखिएको र खुला शाखामा समेत कर्मचारी उपस्थित नभएको जनाइएको छ। “महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत अमित गरी कार्यालयमा उपस्थित नभएकाले सेवाग्राहीलाई ठूलो असुविधा भएको छ, अन्य कर्मचारी पनि समयमा कार्यालय नआउने प्रवृत्ति छ,” समाजका अध्यक्ष आकाश चौरसियाले बताए।
युवाहरूले पालिका अध्यक्ष र उपाध्यक्षलाई समस्याबारे अवगत गराउन खोज्दा सम्पर्कमा नआएपछि अन्ततः प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पर्सा र जिल्ला समन्वय समितिमा औपचारिक ज्ञापनपत्र बुझाइएको हो।
युवा समाजका उपाध्यक्ष भरत साहका अनुसार विद्यालयसम्बन्धी समस्या मात्र नभई सरकारले उपलब्ध गराएको मल स्थानीय स्तरमा गैरकानुनी रूपमा बिक्री वितरण भइरहेको तर पालिका मौन बसेको विषयमा पनि ज्ञापनपत्रमार्फत आपत्ति जनाइएको छ। यसबारे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पोखरीयाका इन्स्पेक्टरलाई समेत ध्यानाकर्षण गराइएको उनले जानकारी दिए।
ज्ञापनपत्र बुझाउने क्रममा समाजका अध्यक्ष आकाश चौरसिया, वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह, संस्थापक सदस्य मोहन महतो कोइरी, दिपेन्द्र गुप्ता, तिन्डोभिया युवा क्लबका अध्यक्ष कृष्ण पटेलसहित धेरै युवाको उपस्थिति रहेको थियो।
युवाहरूले स्थानीय सरकार र कर्मचारीको गैरजिम्मेवारीताले विद्यार्थी र आम नागरिक दुवै मारमा परेको भन्दै तत्काल सुधारात्मक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

