काठमाडाैं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिन शहरमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा प्रतिनिधित्व गर्न शनिबारदेखि ५ दिने भ्रमणमा जाँदै छन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुने यस भ्रमणको मुख्य उद्देश्य नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नु हो।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै, एससीओ शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री हुन महानेट लगायत अन्य राष्ट्र तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको अन्तिम दिन प्रधानमन्त्रीको प्रतिनिधिमण्डल बेइजिङमा आयोजना हुने ‘फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव’ समारोहमा सहभागी हुनेछ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा र अन्य उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन्।

