बागलुङ,१९ भदौ । पहिरोले तीन दिनदेखि अवरुद्ध बनेको सालझण्डी–ढोरपाटन सडक अन्ततः सञ्चालनमा आएको छ।
भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। त्यसपछि दुई दिनको लगातार प्रयासपछि आज बिहानदेखि सवारीसाधन चल्न थालेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए।
सडक बन्द हुँदा सिकार आरक्ष ढोरपाटनतर्फ गएका सयौं आन्तरिक तथा बाह्य पर्यटकलाई निकै सास्ती भएको थियो। वैकल्पिक मार्ग नहुँदा स्थानीयवासी पनि आवतजावतमा ठूलाे समस्यामा परेका थिए।
उपप्रमुख कायतका अनुसार अझै सबै पहिरो पूर्ण रूपमा पन्छ्याउन समय लाग्ने देखिन्छ। “निरन्तर वर्षाका कारण ठूला पहिरो हटाउन गाह्रो भयो। तर पर्यटक र स्थानीयलाई राहत पुगोस् भनेर आंशिक रूपमा सडक सञ्चालनमा ल्याएका हौं,” उनले बताए।
यसैबीच, नगरपालिका र प्रहरीले यात्रुहरूलाई यात्रा अघि मौसम र सडकको अवस्था बुझेर मात्र यात्रामा निस्कन आग्रह गरेका छन्।

