काठमाडौं,२२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्। उनको सट्टा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्मेलनमा अमेरिकाको प्रतिनिधित्व गर्ने वासिङ्टनले जनाएको छ।
यद्यपि ट्रम्पले आगामी वर्ष जी–२० सम्मेलन अमेरिकामै आयोजना गर्ने घोषणा गरेका छन्। उनले मियामी नजिकै रहेको आफ्नो ट्रम्प नेसनल डोरल गल्फ क्लबलाई सम्मेलन स्थलका रूपमा चयन गरेको जानकारी दिएका छन्।
व्यक्तिगत व्यवसायसँग जोडिएको स्थानलाई सम्मेलन स्थल बनाउँदा आलोचना हुने अनुमानमा ट्रम्पले यसबाट कुनै आर्थिक लाभ नलिने र सम्पूर्ण प्रक्रिया पारदर्शी हुने दाबी गरेका छन्।
उनले आफ्नो पहिलो कार्यकालमै जी–७ शिखर सम्मेलन पनि सोही डोरल रिसोर्टमा गर्ने योजना अघि सारेका थिए। तर, स्वार्थ द्वन्द्व र संवैधानिक प्रश्न उठेपछि ती योजनाहरू अन्ततः स्थगित भएका थिए।

