स्थानीय तहका ३५ हजार २२१ उम्मेदवार छनोटको तयारीमा जुट्यो रास्वपा

spot_img

काठमाडौं,२१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ३५ हजारभन्दा बढी उम्मेदवार छनोटको तयारी सुरु गरेको छ। पहिलोपटक स्थानीय चुनावमा सहभागी हुन लागेको पार्टीले उम्मेदवार चयनलाई व्यवस्थित, पारदर्शी र योग्यता आधारित बनाउने लक्ष्यसहित विशेष कार्ययोजना अघि बढाएको हो।

पार्टीले उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। समितिले वडा, पालिका, जिल्ला र प्रदेश तहमा छलफल गरेर सुझाव संकलन गरिसकेको र प्रारम्भिक प्रतिवेदन सभापति रवि लामिछाने लाई बुझाइएको जनाएको छ।

रास्वपाले स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘उम्मेदवार क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य बनाउने तयारी गरेको छ। पार्टी सदस्यता लिएका जोसुकैले उम्मेदवार क्लबमा दर्ता गर्न सक्ने भए पनि प्रशिक्षण र मूल्यांकन प्रक्रिया पार गर्नुपर्ने व्यवस्था गरिनेछ।

पार्टीले उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचन, नेतृत्व क्षमता, स्थानीय जनसम्पर्क, सामाजिक योगदान र समावेशितालाई आधार बनाउने जनाएको छ। प्रारम्भिक निर्वाचनमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यले मतदान गर्न पाउने व्यवस्था हुनेछ।

रास्वपाले स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने विषयमा पनि आन्तरिक छलफल अघि बढाएको छ। साथै दलित, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका उम्मेदवारलाई अतिरिक्त प्राथमिकता दिने तयारी गरिएको छ।

पार्टी नेतृत्वका अनुसार अब स्थानीय तहमा राजनीतिक रूपमा प्रशिक्षित, सक्षम र जनतासँग नजिक रहेका व्यक्तिलाई उम्मेदवार बनाउने रणनीतिअनुसार तयारी तीव्र पारिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय