काठमाडौं,२२ भदौ । अमेरिकाको जर्जिया राज्यस्थित निर्माणाधीन हुन्डाई–एलजी एनर्जी सोलुसन संयुक्त ब्याट्री कारखानामा आप्रवासन अधिकारीले गरेको छापामा ४७५ जना आप्रवासी पक्राउ परेका छन्। तीमध्ये ३ सयभन्दा बढी दक्षिण कोरियाली नागरिक भएको सोलस्थित विदेश मन्त्रालयले पुष्टि गरेको छ।
अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टिभन र्श्यांकका अनुसार, यो कारबाही सामान्य आप्रवासन छापा नभई गम्भीर संघीय अपराध र अवैध रोजगारसम्बन्धी अनुसन्धानको हिस्सा हो। उनले पक्राउ परेका व्यक्तिहरू अमेरिकाभित्र गैरकानुनी रूपमा कार्यरत रहेको दाबी गरे। सबैलाई आप्रवासन तथा सीमा सुरक्षा विभागमार्फत देशनिकालाको प्रक्रियामा लगिएको छ।
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले आपत्कालीन बैठक बोलाउँदै घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे। “आवश्यक परे म वासिङटन पुगेर प्रत्यक्ष वार्ता गर्न तयार छु,” उनले भने। मन्त्रालयका प्रवक्ताले पनि अमेरिकी कानुनी प्रक्रियामा आफ्ना लगानीकर्ता र नागरिकमाथि अन्याय नहोस् भन्ने आग्रह गरेका छन्।
हुन्डाई र एलजी एनर्जी सोलुसनले विज्ञप्ति जारी गर्दै पक्राउ परेकामध्ये ४७ जना आफ्ना कर्मचारी मात्र रहेको, बाँकी करिब २५० जना तेस्रो पक्ष ठेकेदारमार्फत आएका कामदार रहेको स्पष्ट पारे। हुन्डाई मोटर कम्पनीले भने आफूले सोझै पक्राउ परेकामध्ये कसैलाई रोजगारी नदिएको र कारखाना निर्माणमा प्रत्यक्ष संलग्न नभएको दाबी गरेको छ।
दक्षिण कोरिया हाल अमेरिकामा अर्बौं डलर लगानी गर्दै आएको छ। हालै राष्ट्रपति ली जे–म्युंगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटमा ३५० अर्ब डलरको लगानी गर्ने घोषणा गरेका थिए। तर, ट्रम्पले कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति कडाइका साथ अघि बढाइरहेका छन्। यसबीचको पछिल्लो छापाले दुई देशबीचको व्यापारिक र कूटनीतिक सम्बन्धमा चुनौती खडा गर्ने देखिएको छ।

