काठमाडौं,२७ भदौ । गत मंगलबारको प्रदर्शनपछि मुलुकभरका बैंक, उद्योग, व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थामा ठूलो क्षति पुगेको छ। निजी आवासदेखि व्यवसायिक संघ–संस्थाका भवनसम्म तोडफोड तथा आगजनी भएको सरोकारवालाहरू बताउँछन्।
नेपाल बैंकर्स संघका अनुसार २० वाणिज्य बैंकका ६६ शाखा र काउन्टर तथा ४६ एटीएम बुथमा क्षति पुगेको छ। यद्यपि नगद चोरी वा लुटपाट नभएको संघले स्पष्ट पारेको छ। हाल बैंकका केही शाखा खुले पनि कर्फ्यूका कारण ग्राहक उपस्थिति न्यून छ। विद्युतीय भुक्तानी सेवा भने सामान्य रूपमा चलिरहेको छ।
यस्तै, भाटभटेनी सुपरमार्केटका १२ शाखा पूर्ण रूपमा नष्ट भएका छन् भने ९ शाखामा तोडफोड र लुटपाट भएको छ। बाँकी केही शाखा सुरक्षित रहेको व्यवस्थापनले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताइए पनि यकिन तथ्यांक आइनसकेको छैन।
शिक्षण संस्था समेत आन्दोलनको निशानामा परेका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का अनुसार काठमाडौं उपत्यकामा रहेका युलेन्स, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, जेभियर इन्टरनेसनल, नाइटिङ्गेलसहितका विद्यालयमा आगजनी तथा तोडफोड भएको छ।
बिमा प्राधिकरणले कम्पनीहरूलाई क्षतिपूर्तिका दाबी छिटो फर्छ्योट गर्न निर्देशन दिएको छ। तर सरकारी भवनहरूको बिमा नभएकाले त्यस्तो क्षतिबाट राहत नपाइने प्राधिकरणको आकलन छ।
आन्दोलनका कारण उद्योग–व्यवसायमा आएको ठुलो क्षतिले हजारौं रोजगारी संकटमा परेको सरोकारवालाले चेतावनी दिएका छन्।

