काठमाडौं,२७ भदाै । सन् २०२५ जुन १२ मा अहमदाबाद विमानस्थलबाट उडान भरेको एयर इन्डियाको एआई–१७१ उडान केही बेरमै दुर्घटनाग्रस्त हुँदा २६० जनाको ज्यान गएको थियो। यो घटनामा पाइलटको गल्ती नभई विमानको पानी ट्याङ्की चुहावटका कारण सर्ट सर्किट भएको नयाँ दाबी सार्वजनिक भएको छ।
अमेरिकी नागरिकका परिवारहरूको तर्फबाट वकालत गर्दै आएका अमेरिकी वकिल माइक एन्ड्रयूजले नयाँ प्रमाण प्रस्तुत गर्दै विमानको ब्ल्याक बक्स (उडान डेटा रेकर्डर) को विवरण माग गरेका छन्। उनका अनुसार, पानी चुहावटकै कारण इन्धन नियन्त्रण प्रणालीमा सर्ट सर्किट भई इन्जिन अचानक बन्द भएको सम्भावना प्रष्ट देखिएको छ।
एन्ड्रयूजले पाइलटले कुनै गल्ती नगरेको स्पष्ट गर्दै, दुर्घटना शुद्ध रूपमा प्राविधिक दोषका कारण भएको बताएका छन्। उनले अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले मे १४, २०२५ मा जारी गरेको निर्देशनलाई प्रमाणका रूपमा प्रस्तुत गरेका छन्। उक्त निर्देशनमा बोइङ ७८७–८, ७८७–९, ७८७–१० मोडेलका विमानमा पानी ट्याङ्की चुहावटका धेरै घटना रिपोर्ट भएको उल्लेख थियो।
एफएएले चेतावनी दिँदै भनेको थियो — पानी चुहावटका कारण इलेक्ट्रोनिक उपकरणहरू भिजेर सर्ट सर्किट हुने खतरा हुन्छ। एन्ड्रयूजले यही चेतावनी दुर्घटनामा परेको एयर इन्डियाको ७८७–८ ड्रीमलाइनर मा पनि लागू भएको बताए।
दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारले अब घटनाको वास्तविक कारण छानबिन गर्न दबाब बढाएका छन्। वकिल एन्ड्रयूजले प्रभावित अधिकांश परिवारको तर्फबाट अमेरिकी कानुन अन्तर्गत औपचारिक निवेदन दिँदै पूर्ण छानबिन र पारदर्शी तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

