काठमाडौं, ३१ भदौ । भारतको हिमाञ्चल प्रदेशको सिमला जिल्लास्थित कोटखाई नजिक भएको सवारी दुर्घटनामा चार नेपालीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीन जना मृतक एकै परिवारका हुन्।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको हो। लक्ष्मीलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा ज्यान गुमाइन्। त्यस्तै डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भयो।
घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनापछि भारतीय दण्ड संहिताको धारा १०६ अन्तर्गत “लापरबाहीका कारण मृत्यु हुने” कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले जानकारी दिएका छन्।
शवलाई पोष्टमार्टमका लागि पठाइएको र मृतकका परिवारलाई खबर गरिएको भारतीय प्रहरीले जनाएको छ।
यसबीच, हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्। त्यस्तै शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि संवेदना प्रकट गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्।

