बीरगन्ज,०३ असोज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्जबाट खटिएको गस्ती टोलीले अबैध रूपमा भन्सार छली गरी ल्याइएका सामानसहित एक अटो नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोलीले बीरगन्ज महानगरपालिका–१६, गण्डक इलाकाबाट भारततर्फबाट ल्याइँदै गरेका सामानहरू बरामद गरेको हो।
ना.२ ह.४२७७ नम्बरको अटोमा लुकाइछिपाई राखिएका कपडा, किराना तथा कस्मेटिक सामग्रीहरू चेकजाँचका क्रममा बरामद गरिएको हो। सामानहरूको अनुमानित मूल्य करिब रू. ९० हजार रहेको जनाइएको छ। अटो सहित कुल मूल्य करिब रू. ३ लाख ९० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनास्थलबाट अटो चालक फरार भएका छन् भने उनको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

