बीरगन्ज,०३ असोज । जेनजी आन्दोलनका कारण रोकिएको डीएपी मल अन्ततः कृषि सामग्री कम्पनीको बीरगन्जस्थित गोदाममा भित्रिन थालेको छ। आन्दोलनका कारण रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएको मल अहिले अवस्था सामान्य हुँदै गएसँगै भित्र्याउने कार्य सुरु भएको हो।
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय बीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार आदित्य बिरला कम्पनी र भारतको आईपीएल कम्पनीले ग्लोबल टेन्डरमार्फत ल्याएको डीएपी मल गोदाममा प्रवेश गर्न थालेको हो। “आदित्य बिरलाले रक्सौलमा ५ हजार टन र आईपीएलले सिर्सियामा २ हजार ५ सय टन डीएपी मल ल्याएको थियो। आन्दोलनका कारण गोदामसम्म ल्याउन सकिएको थिएन, अहिले त्यो मल क्रमशः भित्रिँदैछ,” पाण्डेले बताए।
हाल प्रादेशिक कार्यालयसँग मौज्दात रहेको ७ हजार टन युरिया मलको कोटा मधेश प्रदेश सरकारअन्तर्गतको कृषि मन्त्रालयले निर्धारण गरिसकेको छ। त्यसअनुसार मधेश प्रदेशका ८ जिल्लाका सहकारीहरूले कोटा अनुसार युरिया मल उठाउन थालेका छन्। तर प्रमुख पाण्डेका अनुसार, युरियाको माग अझै अत्यधिक छ, र अबको केही दिनमा मौज्दात सकिने निश्चित छ। “कोटा लागेलगत्तै सहकारीहरूले धमाधम युरिया मल लगिरहेका छन्। अब मौज्दात सकिन लागेकाले आगामी आपूर्तिमा ढिलाइ हुन सक्छ,” उनले बताए।
कम्पनीले ग्लोबल टेन्डरबाट ल्याउन लागेको ३० हजार टन युरिया मल अहिले तेस्रो मुलुकबाट आई कोलकाता बन्दरगाहमा अनलोडिङ प्रक्रियामा रहेको पाण्डेले जानकारी दिए। उनका अनुसार, मल असोज ९–१० गतेसम्म नेपाल आइपुग्ने सम्भावना छ, तर त्यतिबेला दशैंको बिदा परेकाले कोटा निर्धारण र वितरणमा ढिलाइ हुन सक्ने अनुमान गरिएको छ।
“त्यति बेलासम्म युरिया मलको माग करिब समाप्त भइसकेको हुनेछ,“ उनले चिन्ता व्यक्त गर्दै भने, “भित्रिएको मल वितरणमा अझै ढिलाइ हुने खतरा छ।”
मधेश प्रदेशका जिल्लाहरूमा युरिया मलको चरम अभाव रहेको किसानहरूले बताएका छन्। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ स्टोरहरूमा मल नपाउँदा किसानहरू निराश छन्। भारतबाट मल ल्याउन पनि कडाइ भएकाले विकल्पको रूपमा डीएपी मल प्रयोग गर्न थालेको एक स्थानीय किसानले जनाएका छन्। सरकार र सम्बन्धित निकायले मल आपूर्ति तथा वितरणमा समयमै समन्वय नगरेमा आगामी बाली चक्रमा ठूलो असर पर्न सक्ने चिन्ता कृषकहरूमा देखिएको छ।

