काठमाडौँ,०६ असाेज । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले प्राधिकरणको सेवा प्रवाहलाई युवा पुस्ता सन्तुष्ट हुने स्तरसम्म सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नियुक्तिपछि सिलवालले प्राधिकरणको प्राथमिकता तथा आगामी योजनाबारे धारणा सार्वजनिक गर्दै भने, “युवा पुस्ताको अपेक्षा ठुलो छ, तर सेवा डेलिभरीमा उनीहरू सन्तुष्ट छैनन्। अब उनीहरू सन्तुष्ट हुनेगरी सुधार गर्नुपर्छ।”
उनका अनुसार गुणस्तरीय विद्युत् आपूर्ति, देशभर विद्युत् पहुँच विस्तार, निर्यात प्रवर्द्धन तथा प्राधिकरणलाई आर्थिक–प्राविधिक रूपमा सुदृढ बनाउनु आफ्नो प्रमुख एजेन्डा हुनेछ ।
सिलवालले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्ने, निजी क्षेत्रसँगको सहकार्यलाई थप सशक्त बनाउने तथा भारतलगायत मुलुकहरूसँग विद्युत् निर्यात–आयातका सम्भावनामा काम गर्ने योजना अघि सारेका छन् । “प्राधिकरणले पहिले नै निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद–बिक्री गरिरहेको छ। यो सहकार्यलाई अझै मजबुत बनाउनुपर्नेछ,” उनले बताए ।
उनले प्राधिकरणको आन्तरिक सुदृढीकरणलाई अर्को प्रमुख कार्यसूचीका रूपमा लिँदै बक्यौता असुली, डेडिकेटेड ट्रंकलाइन सञ्चालन र आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।
सिलवालले नेपाल सरकारले ल्याएको २८ हजार मेगावाटको ऊर्जा रोडम्यापलाई आफ्नो कार्यदिशा मान्ने बताएका छन् । “यो लक्ष्य सरकारी योजनामात्र होइन, निजी क्षेत्रको बलियो साझेदारीले मात्र सम्भव हुन्छ,” उनले जोड दिए ।

