महोत्तरी, १७ असोज । विजयादशमीको अवसरमा महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजना गरिएको रावण दहन कार्यक्रमको बीचमै पडका बम विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
बिहिबार साँझ जलेश्वरको शंकरचोकमा रावणको पुतला दहन गर्ने क्रममा विस्फोट भएको हो । रावणको पुतलामै राखिएको पडका बम अचानक पड्किँदा नजिकै रहेका दर्शक घाइते भएको प्रादेशिक अस्पताल जलेश्वरले जनाएको छ ।
घाइते हुनेमा जलेश्वर–८ का ४३ वर्षीय पवन पाठक, वडा नं. ४ मसुरपट्टीका ९ वर्षीय आनन्द पाठक, वडा नं. ३ खैराका १४ वर्षीय आलम राइन, वडा नं. २ का २० वर्षीय सुरज भण्डारी र वडा नं. १ का २२ वर्षीय मनीष चौधरी रहेका छन् । उनीहरूका टाउको, आँखा र अनुहारमा चोट लागेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार अधिकांश घाइते उपचारपछि डिस्चार्ज भएका छन् । तर, ९ वर्षीय आनन्द पाठकलाई आँखामुनि गम्भीर चोट लागेकाले थप उपचारका लागि जनकपुरधामस्थित आँखा अस्पतालमा रिफर गरिएको छ ।
दुर्गा पूजा समिति शंकरचोकका अनुसार यस वर्ष रावणसँगै मेघनाथ र कुम्भकर्णका पुतलासमेत दहन गरिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा रावणको पुतलामै राखिएको पडकाबाट निस्केको छर्रा वा कडा वस्तुले दर्शकलाई चोट लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

