काठमाडौँ,१७ असोज । विश्वका विभिन्न देशका जेलहरूमा हाल १,१७१ जना नेपाली नागरिक थुनामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको समेत मन्त्रालयले पुष्टिकरण गरेको छ।
हालै संघीय संसद् सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार, पूर्व सांसद सोबिता गौतमको लिखित प्रश्नको जवाफमा मन्त्रालयले उक्त तथ्य सार्वजनिक गरेको हो। तथापि कुन देशमा कति नेपाली रहेका छन् र उनीहरू कुन–कुन मुद्दामा संलग्न छन् भन्ने विस्तृत विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन।
परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली नियोगमार्फत ती नेपाली नागरिकलाई आवश्यक कानुनी तथा कन्सुलर सहायता उपलब्ध गराउँदै आएको दाबी गरेको छ। मन्त्रालयका अनुसार, नेपाली नियोगहरूले स्थानीय कानूनअनुसार सहायता उपलब्ध गराउने प्रयास गर्दै आएका छन्।
भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसपछि संघीय संसद् सचिवालयले विघटित प्रतिनिधिसभाको पछिल्लो अधिवेशनमा भएका कामकारबाहीहरू सार्वजनिक गरिरहेको छ। यस अन्तर्गत सांसदहरूका प्रश्न र मन्त्रालयहरूको लिखित उत्तरहरू समेत सार्वजनिक भएका हुन्।
विदेशी जेलमा नेपाली नागरिकको अवस्था मानव अधिकार, कूटनीतिक हैसियत र राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय हो। तर परराष्ट्र मन्त्रालयले कुन देशमा कति नेपाली छन्, कुन कारणले थुनामा परेका हुन्, र हालसम्म कति जनालाई कानुनी सहयोग उपलब्ध गराइएको हो भन्ने विषयमा भने स्पष्ट विवरण नदिएर अपारदर्शिता देखाएको छ।

