काठमाडौं,२५ असोज । नेपाल राष्ट्र बैंकले डेबिट कार्डमार्फत गरिने नगद झिकाइ र कारोबार सीमा घटाउने निर्णय गरेको छ। शुक्रबार जारी गरिएको नयाँ निर्देशन अनुसार अब उपभोक्ताले एटीएमबाट एकपटकमा अधिकतम २० हजार रुपैयाँ मात्र निकाल्न सक्ने छन्।
यसअघि प्रति कारोबार २५ हजार, दैनिक १ लाख र मासिक ४ लाख रुपैयाँसम्म निकासी गर्न पाइँदै आएकोमा नयाँ व्यवस्थाअनुसार अब प्रति कारोबार २० हजार, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्र झिक्न सकिनेछ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी गरिने प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमामा भने कुनै परिवर्तन नगरेको छ। प्रिपेड कार्डको हकमा हालकै दरअनुसार प्रति कारोबार १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायकहरूले जारी गर्ने प्रिपेड कार्डमा पनि दैनिक ५ हजार र मासिक २५ हजार रुपैयाँको सीमा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सीमामा गरिएको यो समायोजनको कारण स्पष्ट रूपमा नबताए पनि वित्तीय प्रणालीको सुरक्षित सञ्चालन, डिजिटल कारोबारमा अनुशासन र ग्राहकको वित्तीय सुरक्षा सुनिश्चित गर्न यस्तो कदम चालिएको विश्लेषण गरिएको छ।
नयाँ सीमा लागू भएपछि उपभोक्ताले बैंकिङ कारोबार योजना बनाउँदा सो अनुसार समायोजन गर्नुपर्ने भएको छ।




