काठमाडौं,२५ असोज । नयाँ स्मार्टफोन खरिद गर्दा अब केवल चार्जर मात्र होइन, युएसबी केबलसमेत नपाइने भएको छ। पछिल्ला वर्षहरूमा फोन कम्पनीहरूले प्याकेज हल्का बनाउने नाममा एकपछि अर्को एक्सेसरी हटाउँदै आएका छन्। सुरुमा चार्जिङ एडाप्टर हटाइएको थियो, अब भने युएसबी केबल हटाउने पालो आएको छ।
हालै सोसल मिडिया प्लेटफर्म रेडिट मा सार्वजनिक एक पोस्टले यो कुरा पुष्टि गरेको छ। सोनीको नयाँ मोडेलको बक्समा न त चार्जर एडाप्टर छ, न त युएसबी केबल। बक्सको पछाडि नै यसबारे स्पष्ट रूपमा उल्लेख गरिएको छ, जसले देखाउँछ—कम्पनीले यो निर्णय योजनाबद्ध रूपमा लिएको हो।
नयाँ ट्रेन्डको सुरुवात
प्रविधि जगतका विशेषज्ञका अनुसार, सोनीको यो कदम भविष्यमा स्मार्टफोन उद्योगकै नयाँ मानक बन्न सक्छ। अघिल्लो समयमा एप्पलले पहिलोपटक चार्जर नदिई फोन बेच्ने ट्रेन्ड सुरु गरेको थियो, जसलाई पछि सामसुङ, नोकिया, र मोटोरोला जस्ता कम्पनीहरूले पनि अपनाए। अब सोनीको उदाहरणपछि अन्य कम्पनीहरूले पनि युएसबी केबल हटाउने सम्भावना बढेको छ।
वातावरण बचाउने बहाना कि नाफा कमाउने उद्देश्य?
फोन कम्पनीहरूले यस कदमलाई “पर्यावरणमैत्री पहल” भनेर प्रस्तुत गरिरहेका छन्। उनीहरूको तर्क छ—अधिकांश प्रयोगकर्तासँग पहिले नै युएसबी(सी केबल हुन्छ, त्यसैले नयाँ केबल उत्पादन गर्दा अनावश्यक विद्युतीय फोहोर बढ्छ। तर, आलोचकहरूका अनुसार, यो कदमले कम्पनीहरूको उत्पादन लागत घटाउँछ र नाफा बढाउँछ।
अर्बौं फोन बिक्री हुने बजारमा प्रत्येक फोनमा केही सय रुपैयाँ बचत हुँदा यो रकम अर्बौं नाफामा परिणत हुन्छ। साथै, कम्पनीहरूले एडाप्टर र केबल छुट्टै बेचेरी थप आम्दानी गर्ने अवसर पनि पाउँछन्।
सस्तो केबलको खतरा
सस्तो र अप्रमाणिकृत युएसबी केबल प्रयोग गर्दा फोन सुस्त चार्ज हुने, तात्ने, वा शर्ट सर्किट हुने जोखिम रहन्छ। कतिपय अवस्थामा केबल जल्ने वा कनेक्टर बिग्रिने समस्या पनि देखिन्छ। यसरी पटक–पटक नयाँ केबल किन्ने बाध्यता नै वातावरणमैत्री दाबीमाथि प्रश्न उठाउँछ।
प्रयोगकर्ताको मिश्रित प्रतिक्रिया
कसैले यसलाई व्यावहारिक कदम भनेका छन्—किनभने धेरैसँग पहिलेका फोनका केबलहरू उपलब्ध छन्। तर, धेरै प्रयोगकर्ताले भने हजारौं रुपैयाँ तिरेर नयाँ फोन किन्दा ब्रान्डेड चार्जिङ केबल पनि हुनु उपभोक्ताको अधिकार भएको बताइरहेका छन्।

एप्पल र सोनीले सुरु गरेको यो ट्रेन्ड भविष्यमा सामसुङ, वनप्लस, र अन्य ठूला कम्पनीहरूले पनि पछ्याउने सम्भावना बलियो बनेको छ।




