काठमाडौं,२७ असोज । ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटको सुपर सिक्स चरण अन्तर्गत नेपालले आज राति कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार राति ८:४५ बजे ओमानको अल अमेरात क्रिकेट मैदानमा सुरु हुनेछ।
यसअघि दिउँसोको खेलमा युएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ, जसको सुरुवात ४:१५ बजे तय गरिएको छ।
सुपर सिक्सको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हात पार्दै युएईलाई एक रनले पराजित गरेको थियो। त्यसैले नेपाल आजको खेलमा पनि विजयी लय कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ। अर्कोतर्फ कतार भने आफ्नो पहिलो खेलमा ओमानसँग पराजित भइसकेको छ।
नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सहज रूपमा सुपर सिक्समा स्थान बनाएको थियो। अब सुपर सिक्समा शीर्ष दुई स्थानमा रहने टोलीले आगामी वर्ष हुने टी–२० विश्वकपमा सहभागिता जनाउनेछ, जसका कारण आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा अनुभवी र उदीयमान खेलाडीहरूको सन्तुलित संयोजन छ। उपकप्तान दीपेन्द्र ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामी लगायतका खेलाडीमाथि टिमको भरोसा रहेको छ।
पहिलो खेलमा बलिङ–लाइनअपले शानदार प्रदर्शन गरेकाले आज पनि त्यही लय दोहोर्याउने अपेक्षा गरिएको छ। कप्तान पौडेलले टस र पिचको अवस्थाअनुसार रणनीति तय गरिने बताएका छन्।
यदि नेपालले आज कतारलाई हराउन सफल भयो भने, विश्वकपमा पुग्ने सम्भावना अझ नजिक आउनेछ। नेपाली टिमका समर्थकहरू आजको खेलमा पनि जितको उत्सव मनाउने आशामा छन्।

