काठमाडौं,२८ असोज । नेपालमा सुन र चाँदीको मूल्यमा एकैदिन असाधारण वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८,१०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो।
सोमबार सुनको छापावाल मूल्य २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको निरन्तर वृद्धिका कारण स्थानीय बजारमा पनि मूल्यमा तीव्र वृद्धि देखिएको हो।
चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। मंगलबार तोलामा २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २ हजार २२५ रुपैयाँ थियो। महासंघका अनुसार सुन र चाँदीको मूल्यमा आएको यो वृद्धि हालसम्मकै कीर्तिमानी उच्च मानिन्छ।



