काठमाडौं,२९ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले आज राति ओमानसँग निर्णायक खेल खेल्ने भएको छ। यूएईलाई १ रन र कतारलाई ५ रनले हराउँदै उत्कृष्ट लयमा रहेको नेपालले आजको खेलमा जित निकाल्न सके सिधै २०२६ को टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
नेपाल र ओमानबीचको खेल सोमबार राति ८ः४५ बजे सुरू हुने छ। सुपर सिक्स चरणमा नेपालले ओमानपछि शुक्रबार सामाओसँग अन्तिम खेल खेल्ने तालिका रहेको छ। हालसम्म सुपर सिक्समा नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ प्रतिस्पर्धामा छन्। शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपका लागि छनोट हुने छन्।
अहिलेको अंकतालिकामा नेपाल र ओमान दुवैको ६ अंक बराबर रहेको छ, तर रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। दुई अंकसहित यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन्। कतार र सामाओ भने अहिलेसम्म अंकविहीन छन्।

नेपालका खेलाडीहरू उच्च मनोबलमा रहेको बताइएको छ, र आजको खेलले देशको क्रिकेट इतिहासमा अर्को विश्वकप यात्रा सम्भव बनाउने अपेक्षा राखिएको छ।




