spot_img

टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल आज सामोआसँग भिड्दै

spot_img
spot_img

काठमाडौँ,३१ असाेज । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको फाइनलमा नेपाल आज सामोआसँग भिड्दैछ। पहिले नै विश्वकपमा प्रवेश सुनिश्चित गरिसकेको नेपालले अब उपाधि जित्ने लक्ष्यसहित ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा ४ बजे सामोआविरुद्ध मैदानमा उत्रिनेछ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपालले यो प्रतियोगितामा हालसम्म सबै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।
समूह ‘बी’ बाट सुपर सिक्समा प्रवेश गरेको नेपालले कुवेत, सिंगापुर, मलेसिया, ओमान र जापानलाई पराजित गरेको थियो। सुपर सिक्सको अन्तिम खेलमा नेपालले घरेलु टिम ओमानलाई ८ रनले हराउँदै अपराजित रहँदै शीर्ष स्थान सुरक्षित गरेको हो।

नेपाल हाल ८ अङ्कसहित पहिलो स्थानमा छ भने ओमान ६ अङ्कका साथ दोस्रो स्थानमा छ।
आज ओमानले जापानसँग खेल्नेछ। यदि नेपाल सामोआसँग हार्यो र ओमानले जापानलाई हरायो भने उपाधि रनरेटको आधारमा टुंगिनेछ।

नेपाल र सामोआबीच यो पहिलो टी–२० अन्तर्राष्ट्रिय सामना हुनेछ। सामोआले यसअघि टुर्नामेन्टमा सन्तुलित प्रदर्शन गर्दै सुपर सिक्समा स्थान बनाएको थियो, तर नेपालको बलिङ र ब्याटिङ दुवै विभाग सामोआभन्दा बलियो मानिन्छ।
नेपालका स्पिनर सन्दीप लामिछाने, तीब्र बलर अविनाश बोहरा, र ओपनर कुसल भुर्तेल उत्कृष्ट लयमा छन्।

ओमानमाथिको जितपछि कप्तान रोहित पौडेलले भनेका थिए,“हामीले मेहनत गरे अनुसार नतिजा पाएका छौँ। अब हाम्रो ध्यान उपाधि जित्न र विश्वकपका लागि अझ बलियो तयारी गर्नमा छ।”पौडेलका अनुसार टोलीले सन्तुलित संयोजन बनाएको छ र युवा खेलाडीहरूको प्रदर्शनले विश्वकपका लागि आत्मविश्वास बढाएको छ।

नेपालले यो जितसँगै सन् २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपको टिकट पक्का गरिसकेको छ। नेपाल यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा पहिलोपटक सहभागी बनेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय