बीरगन्ज,०१ कात्तिक । बारा र पर्सा जिल्लामा स्वास्थ्य विभागको हैजाविरुद्धको खोप अभियान अन्तर्गत कुल लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले खोप लिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार, दुवै जिल्लामा १० लाख १८ हजार ६० जनामध्ये सात लाख २३ हजार ८३६ जनाले खोप लिइसकेका छन्।
प्रारम्भिक तथ्याङ्कअनुसार पर्सामा अभियान सुरु भएको छैठौं दिनसम्म छ लाख ५२ हजार १२९ जनामा चार लाख ५६ हजार ७७८ जनाले खोप प्राप्त गरेका छन्। बारामा तीन लाख ६५ हजार ९३१ जनामध्ये दुई लाख ६७ हजार ५८ जनाले खोप लिएका छन्।
पर्सामा फैलिएको हैजा महामारीको प्रभावलाई मध्यनजर गर्दै अभियानमा पर्साका सबै स्थानीय तह र बारासँग सिमाना जोडिएका छ वटा स्थानीय तह, कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकाका एक वर्ष उमेर माथिका सबैलाई खोप दिइएको छ।
असोज २६ देखि पर्सामा र २७ देखि बारामा सुरु भएको अभियान स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था, मन्दिर–मस्जिद, बसपार्क, नेपाल–भारत सीमा नाका, उद्योग र कारखानामा सक्रिय रूपमा सञ्चालन भइरहेको डा. गौतमले बताए। उनले भने, “हामी अभियानलाई निरन्तरता दिँदैछौं र तिहारपछि पनि आवश्यकताअनुसार खोप प्रदान गर्ने योजना छ।”
नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी यो खोप अभियान सञ्चालन गरेको हो।

