तोकिएकै समयमा निर्वाचन हुनुपर्छ: अध्यक्ष प्रचण्ड

spot_img

जनकपुर,०५ कात्तिक। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन्। उनले सरकारले निर्वाचनको वातावरण बनाउन थप गम्भीरता देखाउनुपर्ने पनि बताएका छन्।

बुधबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले भने,“निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ।”

उनले हालै भएका दलहरूसँगका वार्ता र राजनीतिक सहमतिको संकेत सकारात्मक रहेको बताउँदै भने,

“हिजो मात्रै दलहरूसँग भएको छलफलले सरकार निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिएको छ, तर अझै पनि आवश्यक वातावरण बनेको छैन।”प्रचण्डका अनुसार असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले पहिले नै निर्वाचन मिति घोषणा गरिसकेकाले अब सबै राजनीतिक दलहरूले त्यसलाई सफल बनाउन आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेछ।

“माओवादी केन्द्र नै पहिलो दल हो जसले निर्वाचनमा केन्द्रित हुनुपर्ने निर्णय गरेको हो,” उनले दाबी गरे, “हामी जेनजी आन्दोलनपछि काठमाडौं बाहिर मधेश प्रदेशमा आएर सार्वजनिक सभा आयोजना गर्ने पहिलो दल पनि हौं।”

उनले बुधबारै महोत्तरीको रामगोपालपुरमा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सहभागी हुने जानकारी पनि दिए।

प्रचण्डले वामपन्थी एकता र समाजवादी मोर्चाको भूमिकाबारे कुरा गर्दै भने,“वामपन्थी एकता र ध्रुवीकरण समाजवादी मोर्चा अन्तर्गतका दलहरूबीच क्रमशः अघि बढ्दै गएको छ। निर्वाचन त हुनैपर्छ, र त्यसपछि वामपन्थी शक्तिहरूबीचको सहकार्य अझ सुदृढ बन्नेछ।”

उनले वर्तमान राजनीतिक परिस्थितिमा दलहरूबीच संवाद र सहकार्य अत्यावश्यक रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रणाली र संविधानको संरक्षण सबै दलको साझा जिम्मेवारी भएको पनि जोड दिए।

 

spot_img

ताजा अपडेट

लोकप्रिय