विराटनगर,१४ कातिक । नेपालको घरेलु टी–२० प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)ले दोस्रो संस्करणका लागि विश्व क्रिकेटका एक ठूला र प्रतिष्ठित खेलाडीलाई अनुबन्ध गरेको छ।
दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वव्यापी टी–२० फ्रेन्चाइजका चर्चित हस्ती फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने निश्चित भएको हो। विराटनगर किंग्सले सामाजिक सञ्जालमार्फत यो सनसनीपूर्ण घोषणा गर्दै ४१ वर्षीय डु प्लेसिसलाई आफ्नो टोलीमा भित्र्याएको जानकारी दिएको छ।
यो अनुबन्धलाई एनपीएलको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो ‘साइनिङ’ मानिएको छ। डु प्लेसिसले सन् २०११ देखि २०२२ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। आफ्नो शानदार करियरमा उनले ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

ब्याटिङतर्फ उनले टेस्टमा १० शतकसहित ४ हजार १६३ रन, एकदिवसीयमा १२ शतकसहित ५ हजार ५०७ रन तथा टी–२०आईमा एक शतकसहित १ हजार ५२८ रन बनाएका छन्।
अनुभवी र आक्रामक डु प्लेसिसको आगमनले नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुने एनपीएलको दोस्रो संस्करणलाई अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइ दिने र नेपाली खेलाडीहरूलाई उनको विशाल अनुभवबाट सिक्ने दुर्लभ अवसर मिल्नेछ।




