सुनसरी,१५ कार्तिक । लगातार दुई दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीको पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ। जलसतह बढेसँगै कोशी ब्यारेजका १६ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार, गत असोज १९ गते पानीको प्रवाह अत्यधिक बढ्दा ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो। त्यसयता केही समय नदीको बहाव घटेको भए पनि बिहीबारदेखिको लगातार वर्षाले पुनः जलसतह उकासेको उनले बताए।
लगातार बढ्दो जलसतहका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार, बाढी, पहिरो, डुबान तथा यातायात अवरुद्धजस्ता जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई अत्यावश्यक नभई राति वा वर्षाको समयमा यात्रा नगर्न,नदी किनार तथा डुबान क्षेत्रबाट टाढा रहन, रजोखिमयुक्त बस्तीका बासिन्दाले सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।
त्यसैगरी, विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहहरूलाई पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडक क्षेत्रमा डोजर र एक्साभेटरजस्ता उपकरण तत्पर अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ।

