spot_img

विश्वकप क्रिकेट लिग–२ मा नेपाल लगातार तेस्रो हार

spot_img
spot_img

काठमाडौँ,१६ कातिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईमा जारी त्रिदेशीय श्रृंखलामा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २७१ रनको योगफल तयार पार्‍यो। नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रन बनाए भने करन केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रनको योगदान दिए। अमेरिकाका हरमित सिंहले तीन विकेट, नोस्टुस केन्जिगे र सौरभ नेत्रवलकरले दुई–दुई विकेट लिए।

२७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। उसका साइतेजा मुक्कामलाले ७५, मिलिन्द कुमारले ७० र शायन जहाँगीरले ३६ रन जोडे। नेपालका सन्दीप लामिछानेले तीन विकेट हात पारे भने नन्दन यादव, करन केसी र गुलशन झाले एक–एक विकेट लिए।

यो पराजयसँगै नेपाल लिग–२ को अंकतालिकामा १९ खेलबाट १२ अंकसहित पुछारबाट दोस्रो स्थानमै यथावत् छ। २३ खेल खेलेको अमेरिका भने ३४ अंकसहित शीर्ष स्थानमा कायम छ।

नेपाल यसअघि श्रृंखलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले र दोस्रो खेलमा घरेलु टोली यूएईसँग ५ विकेटले पराजित भएको थियो। अब नेपालले श्रृंखलाको अन्तिम खेल आउँदो बुधबार यूएईसँग खेल्नेछ र त्यसपछि टोली स्वदेश फर्किनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय