spot_img

अन्तिम खेलमा नेपाल र यूएई आमनेसामने

spot_img
spot_img

काठमाडौँ,१९ कार्तिक । आईसीसी विश्वकप लिग–टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध अन्तिम खेल खेल्दैछ। खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउण्डमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

लगातार तीन हार खेपिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। सिरिजका सुरुवाती दुई खेलमा अमेरिका र यूएईसँग सहज पराजय भोगेको नेपालले तेस्रो खेलमा अमेरिकाविरुद्ध सुधारिएको प्रदर्शन गरे पनि २ सय ७२ रनको लक्ष्य जोगाउन नसकेर हार व्यहोरेको थियो।

लगातारको पराजयपछि नेपालका लागि सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना झन् कमजोर बनेको छ। यस्तै, एकदिवसीय (ओडीआई) मान्यता जोगाउनका लागि पनि अब बाँकी खेलहरूमा सशक्त प्रदर्शन आवश्यक देखिन्छ।

टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा अपराजित रहँदै २०२६ को विश्वकपमा स्थान सुरक्षित गरेको नेपालले ओडीआई फर्म्याटमा भने निरन्तर संघर्ष झेलिरहेको छ।

यस सिरिजमा नेपालले अहिलेसम्म तीनै खेल गुमाएको छ भने आज यूएईविरुद्ध सान्त्वना जितको खोजीमा हुनेछ। उता, यूएई पनि घरेलु मैदानमा चम्किन सकेको छैन — अमेरिकासँगका दुबै खेलमा हार बेहोरेको यूएईले नेपालविरुद्धमात्र जित निकालेको थियो।

अंकतालिकामा नेपाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ भने यूएई समान खेलमा ८ अंकका साथ अन्तिम स्थानमा रहेको छ। आजको भिडन्त नेपालका लागि केवल अंक सुधारको अवसर होइन, टोलीको मनोबल पुनः उठाउने मौका पनि बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय