काठमाडौँ,२० कातिक । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीलाई पुनर्गठित ढंगले तयार पारी चुनावमा जानुपर्ने आवश्यकता औंल्याएका छन्। उनले यसले जेनजी आन्दोलनबारे उठेको जनभावना सम्बोधन गर्ने र कांग्रेसप्रति जनताको विश्वास पुनः स्थापित गर्न मद्दत गर्ने दाबी गरे।
भिडियो सन्देशमार्फत थापाले भने, “यदि हामीले अधिवेशन गरेर आत्मसमिक्षा गर्दै, गल्ती स्वीकार गर्दै नयाँ सुरुआतको प्रतिवद्धता लिएर जनतामाझ गयौँ भने मात्रै जनताले कांग्रेसप्रति फेरि विश्वास गर्ने मौका दिन्छन्।”
कांग्रेसभित्र हाल नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा बहस जारी छ। पार्टीका स्थापित नेताहरू नियमित महाधिवेशनको पक्षमा छन् भने गगन थापा पक्षले विशेष महाधिवेशन गर्नुपर्ने आग्रह दबाबसहित उठाइरहेको छ।

विशेष महाधिवेशनको मागसहित संकलित हस्ताक्षर २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। थापाले १६-१९ पुसमा विशेष महाधिवेशन गरी २१ फागुनको निर्वाचनको तयारी थाल्नुपर्ने प्रस्ताव गरेका छन्।
यता, संस्थापन पक्षले भने २७-३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरिसकेको छ। यस विषयमा कांग्रेस केन्द्रीय समितिले अझै अन्तिम निर्णय गरिसकेको छैन।
थापाले भदौ २३ पछि देशको राजनीतिक परिस्थिति बदलिएसँगै कांग्रेसले पनि नयाँ शैली र नयाँ संरचनामा जनतासँग जाने समय आएको बताए। उनका अनुसार कांग्रेसप्रति रहेको असन्तुष्टि र आलोचनालाई संवादमार्फत सम्बोधन गर्नैपर्ने अवस्था छ।
“हामी मात्र बोल्ने होइन, जनताको कुरा सुन्नुपर्ने, सहभागी गराउनुपर्ने र पार्टीमा उनीहरूको आवाजले स्थान पाउनुपर्नेछ,” थापाले भने।थापाले यस बहसमा पार्टीभित्रका सदस्यसँगै बाहिरका लोकतान्त्रिक जनसमर्थकलाई पनि सहभागी हुन आग्रह गरेका छन्।




