काठमाडौं,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २ को पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
चितवनले १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्दै जित हात पारेको हो। चितवनका लागि रबि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। ओपनर दीपक बोहराले ४२ रन जोड्दा, सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३८ रन बनाए।
कर्णालीका लागि कप्तान सोमपाल कामीले २ विकेट लिएका थिए भने मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एकरएक विकेट लिए।
एनपीएलमा चितवनले पहिलो पटक कर्णालीमाथि जीत हासिल गरेको हो। पहिलो संस्करणमा कर्णालीले दुवै खेलमा चितवनलाई पराजित गरेको थियो – लिग चरणमा ५ विकेटले र एलिमिनेटरमा २१ रनले।
यसअघिको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको थियो। ओपनिङ गरेको भारतीय ब्याट्समन पान्चलले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ’डाउडसँग ६१ र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे। म्याक्स ओ’डाउडले २० र मार्क वाटले १६ रन योगदान गरे। पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए।
चितवनका लागि सोहिल रनभीर, सैफ जैब र रबि बोपोराले समान एकरएक विकेट लिए।

