व्यापार बढाउने माध्यम बन्यो एनपीएल

spot_img

काठमाडाैं,०७ मंसिर । कीर्तिपुरको उमामहेश्वर क्षेत्रमा रहेको एक खाजा घरमा पछिल्लो एक सातादेखि ग्राहकको भीड ह्वात्तै बढेको छ। पहिले सामान्य चहलपहल मात्र देखिने यो खाजा घर अहिले क्रिकेटप्रेमीको आगमनले भरिभराउ हुन्छ, जसका कारण सञ्चालक माइला महर्जन लगातार व्यस्त रहने गरेका छन्।

यो परिवर्तनको मुख्य कारण हो, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा मंसिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)। हजारौँ दर्शक प्रतिस्पर्धा अवलोकन गर्न दैनिक कीर्तिपुर पुग्छन्, र उनीहरूको आगमनले स्थानीय व्यवसायलाई नयाँ उचाइमा पुर्‍याइरहेको छ।

स्थानीयका अनुसार एनपीएलले मौलिक नेवारी परिकार, कृषि उपज तथा नेवारी हस्तकलाका सामग्रीको बजार विस्तारमा ठूलो सहयोग गरेको छ। कीर्तिपुरकै चर्चित लहना नेवारी रेस्टुरेन्टका सञ्चालक राजमान महर्जन भन्छन्, “गत वर्ष पनि जित्ने टोलीका समर्थकले रेस्टुरेन्ट भरिदिन्थे, यो वर्ष पनि भीड बढ्न थालेको छ।” कीर्तिपुरमा रहेका करिब ८० रेस्टुरेन्टमध्ये धेरैजसोमा नेवारी परिकार उपलब्ध छन्।

व्यवसाय बढाउन रेस्टुरेन्टहरूले ठूला स्क्रिनमार्फत खेल प्रत्यक्ष प्रसारण गर्न थालेका छन्। ससः नेवारी रेस्टुरेन्टका प्रबन्धक रिजन महर्जन भन्छन्, “एनपीएलले कीर्तिपुरको व्यवसायमा नयाँ ऊर्जा भरेको छ। हामीले परिकारमा स्थानीय उत्पादन प्रयोग गर्छौँ, साथै पराल र मकैको खोस्टाद्वारा बनेका हस्तकलाका सामग्री पनि प्रदर्शन गरेका छौँ।”

उनका अनुसार एनपीएल अवधिभर ग्राहकका लागि खानामा १० प्रतिशत छुटसमेत उपलब्ध गराइएको छ।

कीर्तिपुरमा भइरहेको यस वर्षको एनपीएल केवल खेल प्रतियोगिता मात्र नभई स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने अवसरका रूपमा पहिचानिइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय