काठमाडौं,०८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले निरन्तर उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार तेस्रो जीत दर्ता गरेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
१३६ रनको लक्ष्य पछ्याउन उत्रिएको जनकपुर बोल्ट्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रनमै सीमित भयो। टोलीका लागि जान निकोल लोफ्टी–इटनले सर्वाधिक ४१ रन बनाए पनि बाँकी व्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्। विराटनगरका कप्तान सन्दीप लामिछाने चम्किँदै ४ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किङ्ग्सले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोडेको थियो। शुभम् रन्जानले ३७ रन र बसिर अहमदले ३६ रनको उपयोगी योगदान दिए। जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २–२ विकेट लिएका थिए।
यो जीतसँगै विराटनगरले ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शिरमा स्थान बनाएको छ भने जनकपुर बोल्ट्सले लगातार दोस्रो हार खेपेको छ।एनपीएलमा आजै दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दोस्रो खेल हुने कार्यक्रम छ।

