राष्ट्र बैंक आज ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्दै, तरलता व्यवस्थापन कडा

spot_img

काठमाडौँ — वित्तीय प्रणालीमा बढ्दो तरलता दबाब नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (बुधबार) ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने घोषणा गरेको छ। पछिल्ला हप्ताहरूमा तरलता अत्यधिक हुँदा केन्द्रीय बैंकले निरन्तर दीर्घकालीन अवधिका मौद्रिक उपकरणमार्फत बजारबाट पैसा सोस्ने रणनीति अपनाउँदै आएको छ। आज झिकिन लागिएको रकम ४२ दिनका लागि हो।

राष्ट्र बैंकले पछिल्ला करिब तीन वर्षदेखि प्रत्येक आइतबार र बुधबार निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी भइ निक्षेप संकलन उपकरण खरिद गर्न सक्ने सूचनामा उल्लेख छ।

सूचना अनुसार, बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। खरिद गरिएको निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने प्रावधान पनि रहन्छ।

निक्षेप संकलनमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ। यसका लागि दर प्रस्ताव गर्दा ब्याजदरका आधारमा प्रतिस्पर्धा गरिनेछ। राष्ट्र बैंकले एकै संस्थाले विभिन्न ब्याजदर दरका प्रस्तावसहित बहुबोलकबोल पनि गर्न सक्ने स्पष्ट पारेको छ।

केन्द्रीय बैंकले तरलता नियन्त्रणका यी उपायहरूले बजार ब्याजदरलाई स्थिर राख्न र मुद्रास्फीतिमा दबाब नबढ्न सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय