काठमाडौँ, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेलमा जनकपुर र सुदूरपश्चिम रोयल्स चौथो पटक आमनेसामने हुँदैछन्।
पहिलो संस्करणमा दुई टोलीबीच भएका तीन भिडन्तमध्ये सुदूरपश्चिमले दुई खेल जितेको थियो भने जनकपुरले एक खेलमा विजय पाएको थियो। लिग चरण र प्लेअफमा सुदूरपश्चिम बलियै देखिए पनि फाइनलमा जनकपुरले प्रतिशोधसहित जित निकाल्दै उपाधि हात पारेको थियो।
आजको खेलका लागि दुवै टिमले एक–एक परिवर्तन गरेका छन्। जनकपुरले कप्तान अनिल शाहलाई बाहिर राख्दै आदित्य महतालाई प्लेइङ–११ मा समावेश गरेको छ। उता, सुदूरपश्चिमले नरेन साउँदको ठाउँमा मिलन बोहरालाई पहिलो रोजाइमा उतार्ने निर्णय गरेको छ।
दोस्रो संस्करणमा सुदूरपश्चिम उत्कृष्ट लयमा छ। अहिलेसम्म खेलेका सबै चार खेल जित्दै उनीहरू अपराजित स्थितिमा तालिकाको शीर्षमा छन्। अर्कोतर्फ, साविक विजेता जनकपुर भने यो सिजन निराशाजनक प्रदर्शन गर्दै तीनै खेलमा पराजित भएको छ र अझै जितविहीन छ।

